कैलाशमा सडक स्तरोन्नतिका लागि शिलान्यास
मकवानपुर । चुनियाँ–नामटार–कालिकाटार सडक स्तरोन्नतिका लागि शिलान्यास गरिएको छ । कैलाश गाउँपालिकाको प्रमुख पहुँच भएको उक्त सडकको सोमबार एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
सो क्रममा गाउँपालिकाका अध्यक्ष मुक्तानले आफु जनप्रतिनिधिको रूपमा निर्वाचित भइसकेपछि अन्य कुराको सँगसँगै सडक स्तरोन्नतिका लागि निरन्तर संघ र प्रदेश सरकारसंग पहल गरेको बताउँदै यसको परिणाम स्वरूप पछिल्लो समय बजेट विनियोजन भइरहेको जानकारी दिए ।
उनले सडकमा बजेट विनियोजनका लागि प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको विशेष भूमिका रहेको उल्लेख गरे । उनले सडक स्तरोन्नतिसहित कालोपत्रेको काम पनि अघि बढाउने दृढता व्यक्त गरे ।
यस्तै, गाउँपालिकाका उपाध्यक्ष ठकुरीले सबैको साथ सहयोगबाट मात्रै स्थानीय क्षेत्रको विकास हुने बताए । साथै उनले सडक निर्माणका क्रममा निरन्तर निगरानी र अनुगमन गर्न स्थानीयलाई आग्रह गरे ।
कुमल्टारदेखि बनझाक्री खोल्चा (च्याखेटार) खण्डको साढे ७ किलोमिटर उक्त सडक स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालय चितवनबाट अमृता/आकृति मालिका/गोले जेभी हेटौंडा–१ ले ठेक्का लिएको छ ।
भ्याटसहित १४ करोड २१ लाख २९ हजार ५ सय ९० रूपैयाँमा ठेक्का सम्झौता भएको चुनियाँ–नामटार–कालिकाटार सडक स्तरोन्नतिको काम १८ महिनाभित्रै सम्पन्न गर्ने जनाइएको छ ।

शिलान्यास कार्यक्रम कैलाश–१० का वडाध्यक्ष सूर्यबहादुर ब्लोनको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा कैलाश–९ का वडाध्यक्ष भुवनसिं घलान, निर्माण व्यवसायी सुनिल गोले, स्थानीय कमल अर्याल, कैलाशका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकालगायतको सहभागिता रहेको थियो ।



