सिरहामा बस दुर्घटनाः दुईको मृत्यु, २५ घाइते

तु खबर संवाददाता
२०८० आश्विन १४, आईतवार १८:५३
file photo

जनकपुरधाम । सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार दिउँसो भएको दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, सप्तरी राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस स्प्रिङ पट्टा भाँचिएर मिर्चैयाको मारुती सिमेन्ट फैक्ट्री नजिक अनियन्त्रित भई दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परेर अन्य २५ यात्रु घाइते भएका छन् । घाइतेहरूको गोलबजारस्थित हस्पिटलहरुमा उपचार भइरहेको छ ।

मृतकको हालसम्म पहिचान खुलेको छैन । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।