मिस्टर मकवानपुरको तयारी पुरा
मकवानपुर । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा भोलि शनिवार हेटौंडामा पहिलो पटक मिस्टर मकवानपुर भेट्रान्स तथा महिला फिजिक्स प्रतियोगिता हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत् सो विषयमा जानकारी गराइएको हो ।
शनिबार हुन गइरहेको मिस्टर मकवानपुर–२०८० मा विभिन्न तीन विधा गरी ४५ जना खेलाडीहरुको सहभागिता रहने महासंघका अध्यक्ष राजेश भेटवालले बताए ।
प्रतियोगितामा मिस्टर मकवानपुर, वेष्ट फिजिक्स वुमन च्याम्पियनसीप, मिस्टर मकवानपुर भेट्रान्स गरी तीन विधाका खेलहरुमा प्रतिस्पर्धा हुने जनाइएको छ ।
मिस्टर मकवानपुर विधामा ५५, ६०, ६५, ७० र ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने महिला खेलाडीहरुलाई शारिरिक सुगठन तर्फ आर्कषण गराउन वेष्ट फिजिक्स वुमन च्याम्पियनसिप विधा अन्तरगत खुल्ला तौल समूहमा प्रतिस्पर्धा गराइने अध्यक्ष भेटवालले बताए । मिस्टर मकवानपुर भेट्रान्स विधा अन्तरगत पनि खुल्ला तौल समूहमा प्रतिस्पर्धा गराइने उनले बताए ।
मिस्टर मकवानपुरको विजेतालाई एक लाख, दोस्रो स्थान हुनेलाई ५० हजार र तेस्रो स्थान हुनेलाई तीस हजार नगद सहित ट्रफि मेडल प्रदान गरिने कार्यक्रम संयोजक सुनिल लोप्चनले बताए । कार्यक्रम हेटौंडा २ स्थित पल्पसा हलमा अपरान्ह ४ बजेदेखि हुने जनाइएको छ ।
