चिकित्सक कुटपिट प्रकरणः ७८ जना स्वास्थ्यकर्मीले दिए सामूहिक राजीनामा

तु खबर संवाददाता
२०८० भाद्र २९, शुक्रबार ०९:४४
सन्चो अस्पतालमा चिकित्सकमाथि कुटपिट हुँदै गर्दाको दृष्य

हेटौंडा । मकवानपुरमा चिकित्सकमाथि कुटपिट भएको घटनालाई लिएर हेटौंडा अस्पतालका ७८ जना चिकित्सकसहितको स्वास्थ्यकर्मीहरुले सामूहिक राजीनामा दिएका छन् ।

बुधबार  हेटौँडा १ स्थित सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि कुटपिट भएको थियो । सोही घटनालाई लिएर चिकित्सकहरु आन्दोलि भएका हुन् ।

चिकित्सकहरुले दिएको राजीनामा प्रमुख जिल्ला अधिकारीसमक्ष पठाइनसकिएको हेटौंडा अस्पतालका मेसु डा रामचन्द्र सापकोटाले जानकारी दिए ।

उनले चिकित्सकहरुले काम गर्ने वातावरण नभएको भन्दै आन्दोलन गरेपछि अहिले आकस्मिकबाहेकका सबै सेवा बन्द गर्नुपर्ने परिस्थिति सिर्जना भएको बताए ।

डेंगु संक्रमणको कारण एक महिना अघि मृत्यु भएका हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्त सहितको केहि युवाको समूहले बुधवार दुई जना डाक्टरलाई अस्पताल भित्रै प्रवेश गरेर कुटपिट गरेका थिए ।