दुर्घटनामा परेर प्राचार्य सुवेदीको मृत्यु
झापा । झापाको कनकाई नगरपालिका वडा नं ८ शीतलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्यारागन एकाडेमीका प्राचार्य देवराज सुवेदी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार साँझ पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ च ३२४८ नम्बरको बोलेरो जीपले प्र १–०१–०१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका सुवेदीलाई उपचारका लागि विर्तामोडस्थित बिएन्डसी हस्पिटल पुर्याइएको थियो । उनलाई हस्पिटलमा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
हाल दुर्घटनामा संलग्न बोलेरो जीपका चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
