टिपरको ठक्करबाट डाक्टरको ज्यान गयो

तु खबर संवाददाता
२०८० भाद्र १२, मंगलवार १५:३४
सांकेतिक तस्वीर

विराटनगर । मोरङको उर्लाबारीमा मंगलबार बिहान टिपरले ठक्कर दिँदा डाक्टरको ज्यान गएको छ । ज्यान गुमाउनेमा डाक्टर निरज यादव रहेको प्रहरीले जनाएको छ ।

बिहान उर्लाबारी नगरपालिका– ४ स्थित ओमसाई पेट्रोल पम्पनजिकै पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३–००१ क ००९५ नम्बरको टिपरले प्रदेश १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर लगिएको थियो । अस्पताल पुर्याएको केही समयमै उनको मृत्यु भएको हो ।

प्रहरीले टिपर र चालक झापाको मेची नगर नगरपालिका– ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई पक्राउ गरी घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

मृतक डा.यादव झापाको कनकाई अस्पताल र उर्लाबारीको अरनिको अस्पतालमा कार्यरत थिए ।