मकवानपुरमा १२ जना डेंगू संक्रमित थपिए
मकवानपुर । मकवानपुरमा १२ जना डेंगू संक्रमित थपिएका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उनीहरुमा डेंगू संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
सोमबार सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा डेंगू संक्रमित थपिएका छन् । त्यहाँ आज ६ जनामा डेंगू संक्रमण पुष्टि भएको हो ।
यसैगरी, आज थाहा नगरपालिकाका एक जना, मकवानपुरगढी गाउँपालिका एक जना, मनहरी गाउँपालिकाका एक जना, इन्द्रसरोवर गाउँपालिकाका एक जना, भीमफेदी गाउँपालिकाका एक जना र बकैया गाउँपालिकाका एक जनामा डेंगू संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार, आज थपिएसँगै जिल्लामा डेंगू संक्रमितको कूल संख्या २८३ पुगेको छ । उक्त तथ्याङ्क साउन १ गतेदेखि आजसम्मको हो ।
यस्तै, जिल्लामा डेंगू संक्रमणका कारण साउन १ गतेदेखि हालसम्म एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडाका एक जना पुरुष रहेका छन् ।
