चुरियामाई दुर्घटना अपडेट : मृतक सबैको सनाखत

तु खबर संवाददाता
२०८० भाद्र ७, बिहीबार ०९:०२
file photo

मकवानपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा बुधबार राति तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सबै जनाको सनाखत भएको छ ।

काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेर दुर्घटना हुँदा मृत्यु भएको ७ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सनाखत हुनेहरुमा भारतको राजस्थान बस्ने अन्दाजी ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देबी र महोत्तरीको लोहारपटी नगरपालिका वडा नम्वर ५ बस्ने ४१ वर्षीय बिजय लाल पण्डित रहेका छन् ।

उक्त बसमा चालकसहित २६ यात्रु सवार थिए । तीमध्ये ७ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर १७ जना घाइते भएका छन् । दुर्घटनामा परेर घाइते भएकाहरुको हेटौंडा अस्पताल, सन्चो अस्पताल, चुरेहिल अस्पताल र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

दुर्घटना पछि बसका चालक  र सहचालक प्रहरीको सम्पर्कमा नरहेको र उनीहरुको खोजी कार्य गर्नुका साथै घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।