चुरियामाईमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

तु खबर संवाददाता
२०८० भाद्र ७, बिहीबार ०७:५९

मकवानपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा बुधबार राति तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ६ भारतीय नागरिक र एक जना नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर मृत्यु हुनेहरुको सनाखत भएको छैन ।

उक्त बसमा चालकसहित २६ यात्रु सवार थिए । दुर्घटनामा परेर  १७ जना घाइते भएका छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना पछि बसका चालक भने फरार रहेका छन् । प्रहरीले बस चालकको खोजी कार्य गर्नुका साथै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।