सुन प्रकरण : पक्राउ परेका ४ चिनियाँको साथमा भेटियो नेपाली नागरिकता

तु खबर संवाददाता
२०८० भाद्र ३, आईतवार १५:११

काठमाडौं । हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ परेका ४ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा रहेका चार जना चिनियाँले नेपाली नागरिकता लिएको भेटिएको हो । तीमध्ये एक जनाले काठमाडौं र तीन जनाले काभ्रे जिल्लाबाट नागरिकता लिएको भेटिएको हो ।

सीआइबीका अनुसार, चिनियाँ नागरिक लि–नेङकाईले काठमाडौंबाट सोनाम लामाको नाममा नागरिकता लिएको भेटिएको छ ।

दावा छिरिङको साथमा ११८६५ नम्बरको नेपाली नागरिकता फेला परेको छ । छिरिङले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएको खुलेको छ । तस्करीमा संलग्न डिङ सेग्फा र ली वेन सुङको साथमा पनि नेपाली नागरिकता भेटिएको छ ।

सुन तस्करीको आरोपमा पक्राउ गरिएका एक जना चिनियाँसँग भारतीय आधार कार्ड फेला परेको छ । तिब्बती मूलका भारतीय नागरिक थाप्तेन छिरिङ र अर्का एक जना चिनियाँसँग भारतको आधार कार्ड फेला परेको प्रहरीले जनाएको छ ।