अब श्रम विभागका सम्पूर्ण क्रियाकलाप अनलाइनबाट हुने
काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका सम्पूर्ण क्रियाकलाप अब अनलाइन प्रणालीमार्फत हुने भएका छन् । विभागले प्रवाह गर्दैै आएको सेवालाई शुक्रबार एक कार्यक्रम आयोजना गरेर ‘एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली’ (लेमिस) शुभारम्भ गरेसँगै सबै सेवा प्रवाह अनलाइन प्रणालीबाट हुने भएको हो ।
विभागका प्रवक्ता तथा निर्देशक मणिनाथ गोपले अबदेखि विभाग र अन्तर्गत कार्यालयबाट अनलाइन मार्फत विभिन्न सेवाहरू प्रवाह हुने बताए । त्यसका लागि www.limis.dolod.gov.np मा गई आफ्नो प्रोफाइल तयार पर्नुपर्छ र त्यही आधारमा आवश्यक पर्ने कागजात पेस गरिसकेपछि विभागको तर्फबाट प्रोफाइल तयार हुन्छ ।
विभागका अनुसार विदेशी नागरिकको श्रम इजाजत सम्बन्धी कार्य पनि अनलाइनबाटै हुनेछ । त्यसमा विदेशीलाई श्रम स्वीकृति÷इजाजत प्रदान गर्ने, विदेशी नागरिकलाई श्रम स्वीकृति÷इजाजत खारेजी गर्ने समेत अनलाइनबाटै हुने प्रवक्ता गोपले बताए ।
श्रमिक आपूर्तिकर्ता सम्बन्धी कार्यसमेत अनलाइनबाटै हुनेछ । इजाजतपत्र जारी गर्ने, इजाजत नवीकरण, सेवा तथा कार्यक्षेत्र परिवर्तन र थपघट, इजाजत खारेजीजस्ता कार्यसमेत अबदेखि अनलाइन मार्फत नै हुने उनले बताए ।
ट्रेड युनियनसम्बन्धी कार्यसमेत अबदेखि अनलाइन मार्फत नै हुनेछ । त्यसमा ट्रेड युनियनहरूको दर्ता नवीकरण, ट्रेड युनियनको नाम परिवर्तन, खारेजी तथा नियमनको कार्यसमेत अनलाइनबाटै गरिने प्रवक्ता गोपले बताए ।
त्यस्तै विभाग र अन्तर्गत रहेका ११ वटै कार्यालयहरूबाट श्रम अडिटका लागि समेत अनलाइन मार्फत नै पेस गर्नुपर्ने उनको भनाइ छ । व्यवसायजन्य दुर्घटनाको विवरण दर्ता, प्रतिष्ठानहरू सूचीकृत हुने जस्ता कार्य पनि विभाग र अन्तर्गतका कार्यालयहरूबाट अनलाइन मार्फत नै हुनेछ ।
श्रम विवाद सम्बन्धी निवेदनहरू दर्ताको कार्य समेत अनलाइन मार्फत नै गर्न सकिनेछ । न्यूनतम पारिश्रमिक सम्बन्धी निवेदन दर्ता गराउन सक्ने, व्यक्तिगत मागदावी दर्ता गराउन सक्ने व्यवस्था, सामूहिक मागदावी दर्ता गराउने सक्ने लगायतका कार्य समेत अनलाइनबाटै हुने भएको छ । विभागले हाल यो सेवालाई परीक्षणकालमा राखेको जनाउँदै प्रवक्ता गोपले तत्काललाई अनलाइन र भौतिक दुवै रूपमा सेवा प्रवाह गर्ने बताए ।
