अझै केही दिन वर्षा जारी रहने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी वर्षा अझै केही दिन जारी रहने जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज र भोलि बदली तथा वर्षा हुने बताए ।
उनले सोमबार र मंगलबारको तुलनामा आगामी बुधबार वर्षा बढी हुने बताए । अहिले सुदूरपश्चिमलगायत देशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मंगलबार रातिको समयमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको नजिक) अवस्थित रहेको र सोही मौसमी प्रणालीको प्रभावले बदली र वर्षा गराएको मौसमविद् लामिछानेले बताए ।
