सङ्घर्षले स्थापित गराएको देवचन्द्रको पहिचान
हेटौंडा । सफलताको कथा पढ्न वा लेख्न जति आनन्द लाग्छ, सफलता प्राप्त गर्न गरेको सङ्घर्ष र त्याग उति नै सम्झन लायक हुन्छ । सङ्घर्षशील देवचन्द्र गर्तौलाले निजामती क्षेत्रमा पाएको सफलता निकै प्रेरणादायी छ ।
मकवानपुरको विकट गाउँ आग्रामा जन्मिएका गर्तौला हाल राक्सिराङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् । उनले निजामती सेवामार्फत् थुप्रै कार्यालयमा रहेर अनुभव सङ्गालिसकेका छन् ।
कार्यसम्पादनमा अब्बल गर्तौलाले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको मन जितेका छन् । स्थानीय सरकारका गतिविधि सेवाग्राहीमैत्री बनाउनका लागि रचनात्मक कार्ययोजना निर्माण गर्न र त्यसलाई प्रभावकारी कार्यान्वयन गर्न गर्तौलाको भूमिका महत्वपूर्ण छ ।
२०४५ मा जन्मिएका गर्तौलाको विगत भने निकै सङ्घर्षपूर्ण छ । सामान्य परिवारमा जन्मिएका उनले कक्षा २ सम्म स्थानीय सूर्य बाराही प्राविमा अध्ययन गरे ।
२०५० सालको बाढी पहिरोका कारण उनको परिवार पूर्ण रुपमा विस्थापित हुन पुग्यो । बाढीले जायजेथा सबै बगायो । काखमा लालाबाला बोकेर उनका बुवा विष्णुप्रसाद र आमा दूर्गादेवी हेटौंडा झरे ।
हातमुख जोर्नै समस्या हुने भएपछि गर्तौला परिवारले हेटौंडामा सानो चिया पसल सुरु गर्यो । ‘५/७ वर्षसम्म त धेरै बालखै थिएँ । त्यसपछि चाँही बुवालाई चिया पकाउन र बेच्न सघाउन थालेँ । स्कुल जानुअघि र स्कुलबाट फर्किएपछि चिया पकाउने, बेच्ने गर्थेँ ।’ उनले भने ।
गर्तौलाले जसोतसो, अध्ययनलाई अघि बढाए । अतिरिक्त कृयाकलापमा निकै रुची राख्ने र अध्ययनमा अब्बल भएकै कारण उनलाई विद्यालयले छात्रवृत्ति पनि दिन्थ्यो । कक्षामा धेरैजसो पथम, द्धितीय र श्रेणीमा उतीर्ण हुने भएकाले पुरस्कार बापत् पाएको कापीकलम उनको लागि पर्याप्त हुन्थ्यो ।

२०६० सालमा प्रवेशिका उतीर्ण गरेपछि उनले विज्ञान विषय अध्ययन सुरु गरे । त्यसबेला उनलाई निजामती सेवामा प्रवेश गर्छु भन्ने नै लागेको थिएन । आफुलाई स्थापित गराउन उनले थुप्रै प्रयास गरेका छन् । कहिले खेल क्षेत्रमा स्थापित हुन त कहिले डाक्टर, इन्जिनियर र बैज्ञानिक बन्न । उनले विदेश जान्छु भनेर तयारी समेत गरे । तर, आर्थिक अभावका कारण उनको सबै प्रयास बिफल भए ।
कक्षा १२ पास गरेपछि उनी विएससी माइक्रोबायोलाजी त्रिचन्द्र क्याम्पसमा पढ्न थाले । खर्च टार्न साँझविहान कम्प्यूटर टाइप र सन्ध्याकालिन पत्रिका सेटिङ् गर्थे । बचेको समय बालबालिकालाई टयूशन पनि पढाउँथे ।
काठमाडौँ रहँदा गठ्ठाघरमा रहेको हिकास्ट क्याम्पसमा उनले फुड टेक्नोलोजि पनि पढे । महंगो शुल्क जुटाउन उनी आफू पनि भेटेरिनरी विषय अध्यापन गर्थे । त्यसै क्रममा उनले नेपाल कृषि अनुसन्धान परिषद्मा पनि काम गरे ।
‘प्रयासरत मानिस एक दिन सफल हुन्छ भन्ने लाग्थ्यो । लोकसेवाले विज्ञान र गणित समावेश गरेर पाठ्यक्रम परिवर्तन गरेको थाहा पाएपछि परिवारकै प्रेरणामा पासपोर्ट फ्याँकीदिएँ र लोकसेवा आयोगमार्फत् खरीदारका लागि तयारी सुरु गरेँ । एकैपटकमा उतीर्ण भएर २०६८ बाट सेवा सुरु गरेँ । अधिकृत भने तीन पटकको प्रयासमा उतीर्ण भएको हुँ ।’ उनले भने ।
निजामती सेवामा उनी खुसी छन् । विगतमा हासिल गरेको विज्ञान प्रविधिसँग सम्बन्धित ज्ञान उनी अहिले पनि प्रयोग गरिरहेका छन् ।
अधिकृत नियुक्त भएपछि आधारभुत प्रशासनिक प्रशिक्षण तालिममा उनी सर्वोत्कृष्ट घोषित भए र पुरस्कृत भए । त्यस्तै सेवाकै क्रममा भू–संरक्षण विभागमा बेरुजु फच्र्यौटमा राम्रो काम गरेको भन्दै उनले नगदसहित विभागीय पुरस्कारसमेत पाए । अन्य पुरस्कार तथा सम्मान थुप्रै पाए ।

३५ वर्षका गर्ताैलाले १० वर्षभन्दा बढी सरकारी सेवामा अनुभव सङ्गालिसकेका छन् । उनी निजामती क्षेत्रमा अवसर र चुनौती दुवै देख्छन् । कतिपय अवस्थामा देखिएका व्यवहारिक समस्यालाई कानूनी जटिलताका कारण समाधान गर्न नसक्दा दुख लाग्ने गरेको उनको अनुभव छ ।
सेवाको क्रममा नयाँपन ल्याउन खोज्दा अवरोध हुने, नीतिगत स्पष्टता नहुने, कतिपय ठाउँमा खुट्टा तान्ने र माथिल्लो अधिकारीले रोकिदिने तथा समकक्षीले सहयोग नगर्ने लगायतका थुप्रै चुनौती उनले झेले । कर्मचारीको सरुवा, बढुवामा बैज्ञानिक सुधार गर्नुपर्ने उनको सुझाव छ ।
सेवा प्रवाह छिटो बनाउन कानूनी जटिलता फुकाउनुपर्ने र कर्मचारीले पनि व्यवहार सुधार्नुपर्ने उनको भनाई छ ।
गर्तौला हाल राक्सिराङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् । वार्षिक कार्ययोजना बनाउने, त्यसलाई प्रभावकारी कार्यान्वयनमा ल्याउने, नियमित अनुगमन गर्ने, जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखिकरण तथा तालिम दिने, आवश्यकताको आधारमा योजना निर्माण र फछ्र्यौट गर्ने तथा र सेवाग्राहीलाई तत्कालै सेवा प्रवाह गर्नेलगायत कार्यमा गर्तौला अब्बल छन् ।
उनले विकट पालिकालाई प्रविधिमैत्री बनाइदिएका छन् । वडाबाटै अनलाइन घटना दर्ता प्रणाली सुरु भएको छ । आर्थिक अनुशासन कायम गरी बेरुजु घटाउने काममा उनी सफल देखिएका छन् । जनप्रतिनिधिको इच्छा र भिजनमा कर्मचारीतन्त्रले कानूनसम्वत रुपमा जनताप्रति उत्तरदायी भएर काम गर्दा सुशासन स्थापना हुने उनी बताउँछन् ।
