हत्या गरेको अभियोगमा दुई महिला पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण २५, बिहीबार ०९:२३

रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ सल्ले बस्ने ५२ वर्षीया हस्तकली बुढाथोकीको हत्या गरेको अभियोगमा प्रहरीले २ जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मुसिकोट नगरपालिका–१ सल्ले बस्ने २३ वर्षीया सिर्जना बुढा बोहरा र सोही नगरपालिका–५ टटेला बस्ने ३० वर्षीया शोभा कुमारी सुनार सोनी रहेका छन् ।

उनीहरुलाई कर्णाली प्रदेश केनाईन शाखा कोहलपुर बाँके, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय रुकुम पश्‍चिमबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, हस्तकली बुढाथोकी साउन १९ गते राति आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेको खबर प्राप्त हुनासाथ प्रहरी टोलीले अनुसन्धानको क्रममा घटनामा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

उक्त घरबाट चोरी भएका सुनको सिक्री १ थान, सुनको तिलहरी १ थान, सुनका कानवाली १ थान, सुनको चन्द्रमा १ थानसमेत स्वरुप परिवर्तन गरेको अवस्थामा प्रहरीले बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत रुकूम पश्चिमबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।