हुम्लामा बाढी पहिरो
काठमाडौँ । अविरल वर्षाका कारण हुम्लामा गएको बाढी पहिरोका कारण दुई गाउँमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक मल्लले सर्केगाड गाउँपालिका वडा नम्बर २ का रिप र सर्केगाड गाउँपालिका वडा नम्बर ८ सर्केदेउ गाउँमा क्षति पुगेको जानकारी दिएका छन् ।
मानवीय क्षति नभए पनि घर, जलविद्युत आयोजना, सडक लगायतका भौतिक संरचनामा क्षति पुगेको उनले जानकारी दिए । सर्केदेउ गाउँका दलबहादुर रोकायको घर भत्किएको प्रहरीले जनाएको छ ।
रिप गाउँमा दुईतिरबाट खोलाको बाढी आएपछि गाउँलेहरु समस्यामा परेका थिए । सो गाउँका करिब २५ जनालाई घर खालि गराएर सुरक्षित स्थानमा सारिएको प्रहरी प्रवक्ता मल्लले जानकारी दिए ।
जलविद्युत आयोजनामा पनि क्षति पुगेपछि गाउँलेहरु अन्धकारमा रात बिताउन बाध्य छन् । सडक र सञ्चार सम्पर्क पनि विच्छेद भएको छ । त्यसैले सो स्थानको यकिन विवरण पनि आउन सकेको छैन ।
