भुक्तानी नपाएपछि निर्माण व्यवसायी संघले गरायो सम्बन्धित निकायको ध्यानाकर्षण

मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरले सरकारी निकायबाट निर्माण कार्य बापत्को भुक्तानी समयमा नपाएको भन्दै आज ध्यानाकर्षण पत्र बुझाएको छ ।
समयमा भुक्तानी नपाउने र म्याथ थप नगरी ठेक्का सम्झौता गर्ने परिपाटीका कारण व्यवसायी मर्कामा परेको भन्दै निर्माण व्यवसायी संघ मकवानपुरले आज सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो ।
संघका कार्यबाहक अध्यक्ष सागर कटुवालले हेटौंडास्थित सडक डिभिजन कार्यालय, यातायात पूर्वाधार निर्देशनालय, सहरी विकास तथा भवन कार्यालय, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय र संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयको ध्यानाकर्षण गराइएको जानकारी दिए ।
नेपाल सरकारबाट गत असार २१ गते नेपाल राजपत्रमा म्याद थप सम्बन्धमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७४ ख बमोजिम बाधा अड्काउ फुकाउनका लागि जारी भएको आदेशले हाल विद्यमान म्याद थप र भुक्तानी समस्या समाधान गर्न नसक्ने भएकाले निर्माण उद्योगको विकास विस्तारमा प्रतिकुल असर परेको उनले बताए ।
संघले अत्याधिक र अप्रत्याशित रुपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गरिनुपर्ने, रुग्ण आयोजनाहरु अन्यौलग्रस्त र बजेट नभई काम हुन नसक्ने एवं काबु बाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने, चेक बाउन्स र बैंक ग्यारेण्टी जफत गर्नेलगायत माग राखेको छ ।
बीमाको प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गर्नुपर्ने, श्रोतमा कट्टा गरेको अग्रिम आयकर र मूल्य अभिवृद्धि करको बाँकी बक्यौता रकम समयमा नियोक्ताले राजस्व खातामा दाखिला गर्नुपर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गर्नुपर्ने र निर्माण व्यवसायीको हितमा कानूनसमेत आवश्यक संशोधन गर्नुपर्ने संघको माग छ ।
ध्यानाकर्षण पत्र हस्तान्तरणका लागि कार्यबाहक अध्यक्ष कटुवालसँगै उपाध्यक्ष द्वय भवनाथ अधिकारी, भीम कर्माचार्य, महासचिव राजेन्द्र चौलागाईँ र कोषाध्यक्ष अनल श्रेष्ठ लगायत व्यवसायीहरु विभिन्न कार्यालय पुगेका थिए ।