मकवानपुरमा सवारी दुर्घटना, तीन जना घाइते

तु खबर संवाददाता
२०८० श्रावण ११, बिहीबार ०८:२०

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ६ जुरिखेतस्थित भीमफेदी–कुलेखानी सडकखण्डमा गएराति सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

मार्खुबाट तरकारी लोड गरी हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ च ०६९४ नं.को डीआई योद्धा पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल सडकमा खसी दुर्घटना हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

घाइते हुनेहरुमा गाडी चालक हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमाने बस्ने २३ वर्षीय रिकेश क्षेत्री, गाडीमा सवार इन्द्रसरोवर गाउँपालिका वडा नम्वर १ सिमभन्ज्याङ बस्ने ६९ वर्षीय डम्बर बहादुर थापा मगर र सवारी धनि हेटौंडा–१० बस्ने ३३ वर्षीय मातृका प्रसाद खनाल रहेका छन् ।

उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।