सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ घाइते
धनगढी । डोटीमा बुधबार साँझ जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्लाको आर्दश गाउँपालिका–२ का मौवामा बा १ ज ९४३९ नम्बरको गाडी दुर्घटना हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीया हिरा खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै, दुर्घटनामा परेर गाडीमा सवार आर्दश–५ बस्ने ३५ वर्षीय रवीन्द्र सुनार, वडा नम्बर २ बस्ने ३० वर्षीय टेकबहादुर तिरूवा र चालक वीरबहादुर खड्का घाइते छन् ।
उनीहरू जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गाडी सडकबाट करिब ५ मिटर तल खसेको थियो ।
