निःशुल्क उपचार सेवाको विवरण बुझाउन अस्पतालहरूलाई निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठान, सामुदायिक, निजी तथा गैरसरकारी अस्पतालहरूलाई निःशुल्क उपचार सेवा उपलब्ध गराएको सम्बन्धी दैनिक विवरण बुझाउन निर्देशन दिएको छ ।
मन्त्रालयका महाशाखा प्रमुख डा. मदन कुमार उपाध्यायले अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीहरूको लागि कुल शय्याको १० प्रतिशत छुट्याइ निःशुल्क उपचार गरेको विवरण बुझाउन निर्देशन दिएका हुन् ।
मन्त्रालयले यसअघि नै आर्थिक रूपमा कमजोर नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले स्वास्थ्य सेवा ऐन २०७५, जनस्वास्थ्य सेवा नियमावली २०७७ तथा स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड (पहिलो संशोधन), २०७७ को दफा ७० को खण्ड (घ) मा उल्लेख गरिए अनुसार अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीहरूको उपचार गर्न निर्देशन दिएको थियो ।
