सडक विस्तार प्रकरणमा सीडिओको चुनौतीः सरुवा गर्ने इच्छा छ भने गरिदिए हुन्छ

तु खबर संवाददाता
२०८० असार २५, सोमबार ०९:०७

मकवानपुर । प्रमुख जिल्ला अधिकारी (सीडिओ) सूर्यप्रसाद सेढाईले पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा बजार क्षेत्रमा पर्ने सडक विस्तार कार्य कानून बमोजिम हुने भन्दै त्यसमा अवरोध नपुर्याउन आग्रह गरेका छन् ।

बजार क्षेत्रको सडकको दायाँबायाँ २५/२५ गज विस्तार गर्न सर्वोच्च अदालतबाटै फैसला भइसकेको र सडक डिभिजन हेटौंडाले अतिक्रमित संरचना हटाउन ३५ दिने सूचना प्रकाशन गरिसकेको सन्दर्भमा अब विस्तार कार्यमा कसैले पनि अवरोध पुर्याउन नहुने प्रजिअ सेढाईले बताए ।
सडक विस्तारसँग सम्बन्धित विषयमा कुनै गुनासो, जानकारी वा आफ्नो मत राख्नुपरे प्रशासन वा सम्बन्धित निकायसमक्ष राख्न अनुरोध गर्दै सामाजिक सञ्जालमा जथाभावी लेख्ने तथा कसैलाई आक्षेप लगाउने कार्य नगर्न उनले आग्रह गरे ।

‘सडक विस्तारको विषयलाई लिएर जथाभावी लेख्ने, कसैलाई आक्षेप लगाउने वा धम्की दिने जस्ता कार्य प्रशासनलाई स्वीकार्य हुँदैन । यस्ता गतिविधि गर्नुभयो भने, तपाईहरुको जायज माग रहेछन् भनेपनि सुनुवाईतर्फ भन्दा पनि अर्कै कानून आकर्षित हुन्छ । त्यसकारण आफ्नो मत मर्यादित ढंगबाट राख्न म अनुरोध गर्दछु ।’

उनले सडक विस्तारकै विषयलाई लिएर आफुलाई सरुवा गर्ने प्रयास कसैले गरिरहेको छ भनेपनि खुला रुपमा गर्न चुनौती दिएका छन् ।
‘मैले कानूनको पालना गराउने हो । सर्वोच्चको फैसला अनुसार सडक डिभिजनले सडक विस्तार कार्य अघि बढाउँदा प्रशासनले सो कार्यलाई सहयोग गर्नुपर्छ । अब, सीडिओ पनि बजार भत्काउन लाग्यो, भनेर मेरो सरुवा गराउने तयारी कसैको छ भने, गरिदिए हुन्छ । म जहाँ गएपनि जागिर नै खाने हो, जहाँ गएपनि कानून अनुसार नै अघि बढ्ने हो ।’ उनले भने ।
सरुवा गरिदिने धम्की दिएपछि कानूनको पालना गर्नबाट पछि हट्छ कि भन्ने सोच कसैलाई छ भने त्यस्तो होइन, सीडिओ सेढाईले भने ।

सडक डिभिजनले केही दिन अघि सडक क्षेत्रमा परेका अतिक्रमित संरचना हटाउन ३५ दिने सूचना प्रकाशित गरेसँगै यो विषय पेचिलो बन्दै गइरहेको छ ।

हेटौंडा उपमहानगरपालिकाले पनि सडक विस्तार कार्यमा सघाउने विषयमा नगरसभाबाटै निर्णय गरेको छ ।

मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँले सडक विस्तार हुनैपर्नेमा जोड दिँदै आएका छन् ।