दूध उत्पादक किसानलाई प्रोत्साहन अनुदान वितरण

तु खबर संवाददाता
२०८० असार २२, शुक्रबार १८:०१

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाले व्यवसायिक रुपमा दूध बिक्री गर्ने कृषकहरुलाई प्रोत्साहन अनुदान वितरण गरेको छ ।

थाहा नगरपालिकाले समूह, सहकारी, फर्म, डेरीमार्फत् दूध बेच्ने कृषकहरुलाई वर्ष भरी बेचेको दुधको परिमाणका आधारमा अनुदान वितरण गरेको नगरपालिका पशु विकास शाखाका प्राबिधिक रुपेश कुमार मिश्रले जानकारी दिए ।

पालिकाले दुधको परिमाणका आधारमा अनुदान दिन थालेपछि गाई, भैंसी पालन गरी दूध बेच्ने कृषकको संख्या बृद्धि भएको बताउँदै शाखा प्राबिधिक मिश्रले यस वर्ष २९९ जना कृषकलाई ८ लाख ४ हजार ४२२ रुपैयाँ अनुदान उपलब्ध गराइएको जानकारी दिए ।

उक्त रकम थाहा नगरपालिकामा संचालित एक सहकारी र डेरीहरुमार्फत् वितरण गरिएको हो । नबदुर्गा ट्रेडर्स थाहा–३, द्वारा संचालित कृषक डेरीमार्फत ३३ जना कृषकहरुलाई ९१ हजार ६३ लिटर दूध बिक्रीको परिमाणका आधारमा १ लाख ५६ हजार ९ सय ७० रुपैंया वितरण गरिएको संचालनक युवराज बर्तोलाले जानकारी दिए ।

यस्तै, नन्दकिश्वर डेरी प्रा.लि. थाहा–६, मार्फत् ८५ जना कृषकहरुलाई १ लाख ३ हजार ४ सय ५८ लिटर दूध बिक्री गरेबापत बिक्री परिमाणका आधारमा १ लाख ७८ हजार ३ सय ३६ रुपैंया, देबदर्शन निष्ठा डेरी उद्योग थाहा–३ मार्फत् १ सय ५३ जना कृषकहरुलाई २ लाख २६ हजार ४ सय ९२ लिटर दुध बिक्री गरे बापत ३ लाख ९० हजार ४ सय १७ रुपैंया र सुन्तलाबारी कृषि सहकारी संस्था लि. थाहा १२ मार्फत् २८ जना कृषकहरुलाई २७ हजार ५९ लिटर दुध बिक्री गरेबापत ६६ हजार ६ सय ३३ रुपैंया बितरण गरिएको थाहा नगरपालिका पशु बिकास शाखाले जनाएको छ ।

पशु विकास शाखाको अनुसार गाईको दूधमा प्रतिलिटर १ रुपैंया ७५ पैसाको दरले र भैंसीको दूधमा प्रतिलिटर २ रुपैंया ५० पैसाको दरले प्रोत्साहन अनुदान बितरण गरिएको हो ।

बिहीबार र शुक्रबार नगरपालिकाको पशु विकास शाखामार्फत् चालु आर्थिक वर्ष २०७९/०८० मा पालिकाभित्रका तीन डेरी र एक सहकारीमार्फत किसानलाई अनुदान बापतको रकम वितरण गरेको थियो ।

यसैगरी, उत्कृष्ट दुग्ध उत्पादन गर्ने तीन जना जना कृषकहरुलाई नगदसहित सम्मानित गरिएको छ । सम्मानित हुनेहरुमा क्रमशः थाहा–२ का माधव कार्की, थाहा–१२ का भिमबहादुर गोले र थाहा–६ की पार्वती ढुङ्गाना रहेका छन् ।

त्यस्तै, ४ वटा पशुपालन फर्मलाई नगदसहित सम्मानित गरिएको पशु विकास शाखाका प्रबिधिक रुपेश कुमार मिश्रले बताए । सम्मानित हुने फर्महरुमा लामिछाने गाई तथा कृषि फार्म थाहा–१, डाँडाघरे बा को कृषि तथा पशुपंछी फार्म थाहा–२, मंजिल कृषि तथा पशुपंछी फार्म थाहा–३ र पि पि कृषि तथा पशुपालन फार्म थाहा–६ रहेका छन् ।

पशुपालनलाई प्रेत्सहान गरी किसानमार्फत् दूध संकलन गर्ने चार वटै डेरीलाई पनि प्रोत्साहन बापत नगदसहित सम्मान गरिएको पशु विकास शाखाले जनाएको छ ।

थाहा नगरपालिकाको प्रमुख विष्णु बहादुर बिष्टले प्रोत्सहान अनुदानबाट किसानलाई पशुपालनमा आकर्षण गरी स्वरोजगारमा प्रेरित गर्न सहयोग पुग्ने बताए । थाहा नगरपालिकाको दुध र मासुमा आत्मनिर्भर बन्ने नीति अनुरुप गाई भैंसी पकेट क्षेत्र समेत विस्तार गर्ने कार्यक्रम निरन्तर रहेको उनको भनाई छ ।

यस्तै सो क्रममा कृषकहरुलाई उत्पादनमा आधारित रहेर प्रोत्साहन गर्दा कृषकहरुलाई व्यवसायिक बन्न प्रेरणा मिलेको युवा कृषक माधव कार्कीले बताए । उनले अनुदानलाई निरन्तरता दिन र गाई–भैंसी खरिद गर्नका लागि समेत अनुदान उपलब्ध गराउन सके युवाहरुलाई पशुपालनमा आकर्षित गरी स्वरोजगार सृजना गर्न सकिने बताए ।