टिपरको ठक्करबाट आमा–छोरीको मृत्यु

तु खबर संवाददाता
२०८० असार २०, बुधबार ०९:०७

विराटनगर । सुनसरीको इटहरीमा मंगलबार टिपरको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा इटहरी उपमहानगरपालिका–८ की ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया अनुशा चौधरी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, धरानबाट पूर्वतर्फ जाँदै गरेको कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका सरिताको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र अनुशाको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।

उक्त टिपरले ब्याक गरी मान्छे मारेको स्थानीयले आरोप लगाएका थिए । स्थानीयवासीले टिपर तोडफोड गरेका थिए । स्थितिलाई नियन्त्रण लिन सामन्य बल प्रयोग गरेको सुनसरी प्रहरीले जनाएको छ ।

झडपमा प्रहरीतर्फ ९ जना र केही प्रदर्शनकारी पनि सामान्य घाइते भएको जनाइएको छ ।