मकवानपुर प्रहरीद्वारा अवैध कपडा र चियाको टि–पाउडरहरु बरामद

तु खबर संवाददाता
२०८० असार १७, आईतवार १८:२७

मकवानपुर । मकवानपुर प्रहरीले अवैध सामान बरामद गरेको छ । प्रहरीले एक लाख १२ हजार ८ सय रुपैयाँको कपडा र ९२ हजार ८ सय रुपैयाँको चियाको टि–पाउडरहरु बरामद गरेको छ ।

प्रहरीले शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेबाट अवैध कपडा बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार, शनिबार दिउँसो १ बजेको समयमा वीरगंजबाट हेटौंडा आउंदै गरेको ना ७ ख ११८१ नम्वरको यात्रु बाहक बसलाई रोकी चेकजांच गर्ने क्रममा सो बसको पछाडीको डिक्की भित्र लुकाईछिपाई भन्सार छलि चोरी पैठारी गरी ल्याएको बिल बिजक नभएको उक्त मुल्य बराबरको २२४ थान लेडिज कुथा र चार थान सुरुवाल बरामद गरिएको हो ।

यस्तै, प्रहरीले हेटौंडा–१५, रातोमाटेबाट नै आज अपराह्न साढे २ बजेको समयमा टि–पाउडर ११६ प्याकेट बरामद गरेको छ । काँकडभित्ताबाट हेटौंडा आउंदै गरेको प्रदेश नं. १–०२–००१ ख ९७५७ नम्वरको यात्रु बाहक बसलाई रोकी चेकजांच गर्ने क्रममा सो बसको पछाडीको डिक्की भित्र लुकाई छिपाई भन्सार छलि चोरी पैठारी गरी ल्याएको बिल बिजक नभएको रेड लेवल लेखिएको उक्त रकम बराबरको टि–पाउडर बरामद गरिएको हो ।

बरामद उक्त कपडा र टि–पाउडर आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको मकवानपुर प्रहरीले जनाएको छ ।