कीर्तिपुरबाट पक्राउ परे हेटौंडाका बम्जन

तु खबर संवाददाता
२०८० असार १४, बिहीबार १६:४५

मकवानपुर । काठमाडौंको कीर्तिपुरमा तीन घरमा चोरीमा संलग्न हेटौंडाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका– १८ घर भएका २२ वर्षीय प्रताप बम्जन रहेका छन् ।

उनलाई प्रहरी वृत्त कीर्तिपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले बुधबार विहान कीर्तिपुर नगरपालिका–८ पाँगा लाछीबाट पक्राउ गरेको हो ।

शंकास्पद रूपमा हिँडडुल गरिरहेका बम्जनलाई खानतलासी गर्ने क्रममा उनको साथबाट दुई वटा ल्यापटप, दुई हजार रकम, सामसुङ, रियलमी र आइफोन गरी तीन वटा मोबाइल फेला परेपछि निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार, उनले बोकेको झोलाबाट च्यानल गेट र झ्याल फुटाउन प्रयोग हुने एल आकारको दुवैतिर चुच्चो भएको १ फिट ८ ईन्च लम्बाई, ८ ईन्च गोलाई भएको फलामको रड समेत बरामद गरेको छ ।

बरामद गरेको सामान प्रारम्भिक सोधपुछ गर्दा उनले कीर्तिपुर वडा नम्बर ८ अन्तर्गतमा २ देखि ३ बजेभित्र तीनवटा घरमा चोरी गरेको खुल्न आएका प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौं जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा दिन ५ म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।