हेटौंडामा अंगदान र प्रत्यारोपण सम्बन्धी अन्तरक्रिया कार्यक्रम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा मंगलबार अंगदान र प्रत्यारोपण सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रम शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको सहकार्य एवम् हेल्थपाटी डटकमको आयोजनामा भएको हो ।
कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा प्रमुख अतिथि लामाले अंगदानको विषयमा जनचेतना फैलाउनुपर्नेमा जोड दिइन् ।
खेर जाने अंगको दान गर्न सके अन्य व्यक्तिले पुर्नजीवन पाउने बताउँदै आफु अंगदान गर्नुपर्छ भन्ने चेतनामूलक कार्यक्रममा आफुले सधै सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।
कार्यक्रममा राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ र नेफ्रोलोजिष्ट डा. शुरेश महर्जनले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै कार्यकारी निर्देशक डा.श्रेष्ठले नेपालमा ब्रेन डेथ भएका व्यक्तिहरुको अंग प्रयोग गर्न सके हजारौंले पुर्नजीवन पाउने बताए ।
उनले नेपालमा वार्षिक १ हजार जनाको बे्रनडेथ हुने गरेको अनुमानित तथ्यांक रहेको बताए । उनले वार्षिक ८ हजार जना मृगौला र कलेजो प्रत्यारोपण गर्न सकिने अवस्था रहेको बताउँदै जनचेतनाको कमीका कारण खेर जाने ८ हजार अंगको उपयोग गर्न नसकिएको र हालसम्म नेपालमा जम्मा ५ ब्रेनडेथ भएका व्यक्तिको अंग उपयोग भएको जानकारी गराए । उनले हालसम्म केन्द्रमा १ हजार ७८ जनाको मृगौला प्रत्यारोपण भएको र सबै प्रत्यारोपण शतप्रतिशत सफल भएको बताए ।
यस्तै, कार्यक्रममा नेफ्रोलोजिष्ट डा. महर्जनले विदेशमा ८० प्रतिशत अंग प्रत्यारोपण मस्तिष्क मृत्यु भएका व्यक्तिहरुको अंगबाट हुने गरेको बताए । जीवित व्यक्तिको शरीरबाट अंग झिकेर प्रत्यारोपण गर्नुभन्दा मस्तिष्क मृत्यु भएकाहरुको अंग प्रत्यारोपण गर्दा जोखिम कम हुने भएकाले पनि मस्तिष्क मृत्यु भएकाहरुको अंग उपयोग गर्नेतर्फ जोड दिए ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, प्रहरी उपरिक्षक बामदेव गौतम, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका अधिकारी दिपक तिवारी, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा.विश्वराज जोशी र हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
नेपालमा वर्षेनी ३ हजार जनाको मृगौला र १ हजार जनाको कलेजो फेल हुने गरेको तथ्यांक छ ।
