दुर्घटनामा परेर कुमालको मृत्यु, मकवानपुरका मोक्तान पक्राउ
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४, मनकामना केवलकार नजिकै आज दिउँसो माइक्रो बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपन्देहीको कञ्चन गाउँपालिका–१ बस्ने ३६ वर्षका हेमन्त कुमाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार, दिउँसो २ बजे काठमाडौंबाट जाँदा गरेको बा ३ ख ९४६० नम्बरको माइक्रो बसले र विपरीत दिशातर्फ आँउदै गरेको लु ९३ प ९४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते कुमालको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने सवारी साधन र चालक मकवानपुरको कैलाश गाउँपालिका–२ घर भएका लुम्न सिंह मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
