भीमफेदी दुर्घटना अपडेट : कार चालकको मृत्यु

तु खबर संवाददाता
२०८० असार ५, मंगलवार १७:३६

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८ गगटेस्थित आज दिउँसो भएको कार दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

हेटौंडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड अन्तरगत पर्ने उक्त स्थानमा दुर्घटना हुँदा कार चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३, बसामाडी बस्ने अन्दाजी ३० वर्षीय बिबेक लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

दिउँसो १ः४५ बजेको समयमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको बीएसी ०५३७ नम्वरको कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खोचमा खसी दुर्घटना भएको थियो ।

उक्त कारमा दुई जना सवारी थिए । तीमध्ये दुर्घटनामा परेर कार चालक लामा भने बिच भागतिर अड्किएको अवस्थामा अपराह्न ५ः१० बजेको समयमा नेपाल प्रहरी, नेपाल आर्मीको संयुक्त टोलीले मृत फेला पारेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

मृतक लामाको मुचुल्का कार्य सुरु गरेको र मुचुल्का कार्य सम्पन्न भएपछि हेटौंडा ल्याउने प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

यस्तै, भीमफेदी–५ बस्ने अन्दाजी ४५ वर्षीय राजकुमार बल घाइते भएका छन् । घाइते उनको छातीमा चोट लागेको र अवस्थामा मध्यम रहेको छ । उनलाई उपचारको लागि हेटौंडातर्फ ल्याउँदै गरेको जनाइएको छ ।