मनहरीका वनकरियालाई पाडी वितरण

तु खबर संवाददाता
२०८० असार ५, मंगलवार १६:१९

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले सिमान्तकृत वनकरिया जातीलाई पाडी वितरण गरेको छ । पालिकाले मनहरी–४ मा बसोबास गर्दै आएका नेपालकै दुर्लभ र सीमान्तकृत वनकरिया जातीलाई पाडी वितरण गरेको हो ।

पालिकाले वार्षिक कार्यक्रम अन्तरगत उनीहरुलाई ३ लाख बजेटबाट १० वटा पाडी वितरण गरिएको गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले जानकारी दिइन् ।

उपाध्यक्ष मगरले उनीहरुको जिविकोपार्जनमा ठुलो सहयोग पुग्ने विश्वासका साथ हस्तान्तरण गरिएको बताइन् । सीमान्तकृत वनकरियालाई संरक्षण मात्र नभई उनीहरुलाई आय आर्जनमा पनि स्थानीय सरकारले सहयोग पुर्याउँदै अघि बढिरहेको बताइन् ।

यस्तै, सो क्रममा मनहरी–४ का वडाध्यक्ष प्रकाश थापाले ६ वर्षसम्म पाडीको राम्रो स्याहार सुसार गर्न सके वनकरिया जातीमा आत्मनिर्भर हुने बाटो रहने बताए । साथै उनले पाडीलाई आवश्यक औषधी उपचारका लागि गाउँपालिकाको पशु शाखासँग समन्वय गर्न समेत अनुरोध गरे ।