हेटौंडामा दुरसञ्चार सेवाको अवस्थाबारे अन्तरक्रिया
मकवानपुर । नेपाल दुसञ्चार प्राधिकरणको आयोजनामा शनिबार हेटौंडामा दुरसञ्चारसँग सम्बन्धित कानून र समग्र दुरसञ्चार सेवाका वर्तमान अवस्थाबारे सेवा प्रदायकहरु र सरोकारवालाबीच अन्तरक्रिया भएको छ ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यता तथा प्राधिकरणका उपनिर्देशक रेवतीराम पन्तको सभाध्यक्षतामा अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले प्रदेशमा बनेका दुरसञ्चारसँग सम्बन्धित नीतिगत, कानुनी र संस्थागत व्यवस्थाबारे बताएका थिए । उनले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ तथा व्यवस्थापन नियमावली ०७६ बनेको बताए । आगामी आवमा सुचना र सञ्चारको सुरक्षित प्रयोग र साइबर अपराध न्यूनीकरणका लागि विशेष कार्यक्रम गरिने बताउँदै मन्त्री श्रेष्ठले नागरिकको सुचना नागरिक समक्ष पु¥याउन प्रदेश सुचना बैंकको विस्तार गरिने समेत बताए ।
प्रदेशमा सुचना प्रविधि तथा इन्टरनेट सम्बन्धी दर्ता, सञ्चालन र नियमन गर्न छुट्टै कानून नभएकोले कानून निर्माण गर्न आवश्यक रहेको बताए । प्रायः सबै अधिकार संघीय सरकारसँग रहेकाले केही अधिकारहरुमा तारमुक्त गर्न सकिने, स्वनियमन, नियमन र आवश्यक पर्दा नियन्त्रण गर्न सरकार लाग्ने बताए ।
कार्यक्रममा प्राधिकरणका उपनिर्देशक पन्तले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै सहभागिबाट प्रतिक्रिया लिए र जवाफ दिएका थिए ।
