दुर्घटनामा परेर पूर्व नगरप्रमुखको ज्यान गयो
स्याङ्जा । स्याङ्जामा सवारी दुर्घटनामा परेर पूर्व नगरप्रमुखको ज्यान गएको छ । जिल्लाको चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको गएराति भएको दुर्घटनामा परेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीका अनुसार, बा १५ च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा ६० वर्षीय गिरी गम्भीर घाइते भएका थिए । घाइते उनलाई उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा लगिएकोमा चिकित्सकले राति ११ः४० मा मृत घोषणा गरेको थियो ।
मृतक गिरी चापाकोट–४ दार्सिङ निवासी हुन् । राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको स्कारपियो गएराति ११ बजे पुतलीबजार–१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटनामा भएको थियो ।
प्रहरीले सवारी चालक पुतलीबजार–९ कोल्मा बस्ने ३२ वर्षीय सुरज नेपाली र स्कारपियोलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
