जिल्ला प्रहरी कार्यालय मकवानपुरमा स्मार्ट कन्ट्रोल रुम संचालन

तु खबर संवाददाता
२०८० जेष्ठ ३१, बुधबार १०:५३

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आजनबाट स्मार्ट कन्ट्रोल रुम संचालनमा आएको छ । प्रहरी कन्ट्रोल रुमको १०० मा फोन नलाग्ने जनगुनासोको अन्त्यका लागि स्मार्ट कन्ट्रोल रुम संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

उक्त स्मार्ट कन्ट्राल रुमको बुधबार बिहान एक कार्यक्रमबीच मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले उद्घाटन गरेका हुन् ।

सो क्रममा उनले सूचना प्रविधिको पहुचको विस्तार भएसँगै मकवानपुरमा हुने घटना, दुर्घटनामा प्रहरीको छिट्टै उपस्थिती रहन सहयोग पुगोस् भन्ने उद्देश्यले नयाँ प्रविधिसहित स्मार्ट कन्ट्रोल रुमको थालनि गरेको गौतमले बताए ।

प्रहरी उपरीक्षक गौतमले हाललाई ३ वटा फोन र कम्प्युटरसहित रुमको सुरुवात गरिएको र केही दिनमा यससँग सम्बन्धित एपबाट थप सेवा सुरु गरिने बताए ।

यस्तै, कार्यक्रममा प्रहरी निरीक्षक राजु केसीले स्मार्ट कन्ट्रोल रुमबाट हुने फाइदा र यसको प्रयोगको बारेमा जानकारी गराएका थिए । उनले काठमाडौं प्रहरी परिसरमा सुरु भइरहेको यस रुमको मकवानपुरमा पनि सुरुवाग गरिएको बताए ।

कार्यक्रममा पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्की, मकवानपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आर्चाय, प्रहरी निरीक्षक रामचन्द्र घिमिरेलगायतको सहभागिता रहेको थियो ।