राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज भए
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । राष्ट्रपति पौडेललाई बिहान ८ बजे डिस्चार्ज गरिएको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई २४ घण्टाको अवलोकन र उपचारपछि डिस्चार्ज गरिएको जानकारी गराएको हो ।
अहिले उनको अवस्था सामान्य रहेको पनि अस्पतालले जनाएको छ । मंगलबार बिहान ११ बजे उनलाई असहज भएपछि बाँसबारीस्थित गंगालाल अस्पतालमा लगिएको थियो ।
गंगालालमा पौडेलको मुटुको अवस्था हेर्नको लागि एन्जिओग्राम गरिएको हो । उनको अवस्था सामान्य देखिएपछि अस्पतालले आज डिस्चार्ज गरेको हो ।
