नागरिकता माग्दै एक युवकले गरे आत्मदाहको प्रयास

तु खबर संवाददाता
२०८० जेष्ठ ३०, मंगलवार १८:४५

काठमाडौं । माइतीघर मण्डलामा नागरिकता माग गर्दै मंगलबार एक युवकले आत्मदाहको प्रयास गरेका छन् । मोरङ कटहरीका निरजकुमार कामतले माइतीघर मण्डलामा आत्मदाहको प्रयास गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि परेको रिटमा सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा आन्दोलन गर्दै आइरहेका छन् ।

मंगलबार नागरिकताविहीन ती युवकले आफैँलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

आत्मदाहको प्रयास गर्दैगर्दा प्रहरीले कामतलाई उद्धार गरेको थियो । उद्धारपछि कामतलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको जनाइएको छ ।