अप्राकृतिक मैथुन कसुरमा एक युवकलाई १२ वर्षको जेल सजाय

गलकोट । जिल्ला अदालत बागलुङले अप्राकृतिक मैथुन गरेको अभियोगमा पक्राउ परेका बागलुङको बडिगाड गाउँपालिका–७ का १९ वर्षीय इमानसिंह रानालाई १२ वर्ष ६ महिना कैद भुक्तान गर्न आदेश दिएको छ ।
८ वर्षीय एक बालकलाई अप्राकृतिक मैथुन गरेको पुष्टि गर्दै जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले सो कैदसँगै रु ४० हजार जरिवानासमेत भराउन आदेश दिएको अदालतले जनाएको छ ।
निज रानाले २०७९ साउन २० गते अप्राकृतिक मैथुन गरेको अभियोगमा पीडित बालकका अभिभावकले साउन २२ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।
प्रहरीले सोही दिन उनलाई आफ्नै घरबाट गिरफ्तार गरेर भदौ १३ गते उक्त अदालत बागलुङमा मुद्दा दर्ता गरेको थियो ।