हेटौंडा अस्पताल पूर्ण रुपमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा

तु खबर संवाददाता
२०८० जेष्ठ २, मंगलवार १८:४६

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित हेटौंडा अस्पताल पूर्ण रुपमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा आएको छ ।

सोमबार बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को साविकको व्यवस्था जगाउने सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रमाणीकरण गरेसँगै हेटौंडा अस्पताल प्रतिष्ठानको मातहतमा आएको हो ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश सभा सचिवालयबाट प्राप्त भई आएको सो विधेयक प्रमाणीकरण गरेका हुन् ।

प्रतिष्ठान र हेटौंडा अस्पताललाई बागमती प्रदेशका तत्कालिन मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे नेतृत्वको सरकारले अध्यादेश मार्फत प्रतिष्ठान र अस्पताललाई अलग गराएको थियो । फेरी पहिलेको ऐनलाई जगाउने गरी विधेयक प्रमाणीकरण गरिएको हो ।

विधेयक प्रमाणीकरण भएसँगै अब यसको कार्यान्वयन समेत भएको बागमती प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति शालिकराम जम्मकट्टेलले जानकारी दिए । उनले अहिलेको अवस्थामा भने प्रतिष्ठान स्वास्थ्य मन्त्रालय अन्तरगत भन्दा पनि पहिलेकै सामाजिक विकास मन्त्रालयको मातहतमा भएको पनि बताए ।

यस्तै, मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले प्रदेश सरकारको गौरबको आयोजनाका रुपमा प्रतिष्ठान रहेकाले त्यही अनुसार सेवा दिने गरी काम गरिने बताए ।

प्रतिष्ठान मातहत आएपछी अस्पतालमा आवश्यक डाक्टर, नर्स, स्वास्थ्यकमीको संख्या बढाउने र स्वास्थ्य जाँच गराउनका लागि ल्याबमा पनि प्रबिधि थप्दै लगिने प्रसाईले बताए ।