१२६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

तु खबर संवाददाता
२०८० बैशाख २३, शनिबार १९:१७

हेटौंडा । हेटौंडा–१७ हटियास्थित प्रस्तावित जगदगुरु चिकित्सालय स्थलमा भएको निःशुल्क स्वास्थ्य शिविरमा १ सय २६ जनाको स्वास्थ्य परिक्षण गरीएको छ । शनिबार सम्पन्न शिविरमा नाक, कान तथा घाँटी, जेनेरल फिजिसियन र फिजियोथेरापी सम्बन्धी स्वास्थ्य जाँच गरिएको हो ।

मासिक रुपमा संचालन हुने उक्त शिविरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाक, कान तथा घाँटी रोग सम्बन्धी डाक्टर विमल पोखरेल, जेनेरल फिजिसियन डाक्टर अमिता थापा, तथा जस्मिन हस्पिटल प्रालि मायादेवी १९ की सञ्चालक फिजियोथेरापिस्ट डाक्टर रोशनी नेपालीद्वारा १ सय २६ जना स्थानीयसहित साधकहरुको स्वास्थ्य जाँच गरिएको हो । शिविरमा निःशुल्क स्वास्थ्य जाँच गरिनुका साथै निःशुल्क औषधि पनि वितरण गरिएको थियो ।

श्री राधा माधव समिति नेपाल, जगद्गुरुतम मन्दिर अध्यात्म केन्द्र र डिभाइन युथ क्लब नेपालको संयुक्त आयोजनामा शिविर भएको हो । शिविर श्यामा श्याम सत्संग केन्द्र रामबजार पोखराका अधक्ष्य नारायण बहादुर बानियाँको सभाध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महसंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि अरुणराज सुमार्गीले आध्यात्मिक भावनासँग जोडिएर आयोजना गरिएको कार्यक्रमले स्थानीयवासीमा सकारात्मक उर्जा थप्ने र स्थापित जगद्गुरुत्तम मन्दिरले मकवानपुर जिल्लाको धार्मिक पर्यटन विकासमा महत्तवपूर्ण भूमिका खेल्ने कुरा व्यक्त गर्दै आगामी दिनमा आफ्नो तर्फबाट पनि सहयोग रहने बताए ।

उद्घाटन कार्यक्रममा सहभागी अतिथिले आगामी दिनमा संस्थासँग जोडिएर सहकार्य र समन्वय गर्ने बताए । विगतका दिनहरुमा संस्थाले शिविरहरु संचालन गर्दै आएको छ । २०७६ पुस महिनादेखि सुरु भएको शिविर कोरोना अवधिभर रोकिएर पुनः सञ्चालन हुँदै ३० औं श्रृङ्खला अन्तर्गत शनिबारको शिविर सम्पन्न भएको हो । विगतमा विभिन्न विधामा आयोजित शिविरमा विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य जाँच गरिएको थियो । अब आउने महिनामा विशेषज्ञ डाक्टरहरुबाट हेटौंडाका स्थानीय बासिन्दालाई अझै लाभ पुरयाउने योजना रहेको जनाइएको छ ।