मकवानपुरमा सवारी दुर्घटना हुँदा तीन जना घाइते
मकवानपुर । मकवानपुरको दुई छुट्टाछुट्टै स्थानमा आज भएको सवारी दुर्घटनामा परेर तीन जना घाइते भएका छन् । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर १ सुपारिटार ब्यारेक नजिकै दुर्घटना हुँदा दुई जना र मनहरी गाउँपालिका वडा नमवर ९ खरंगाामा भएको दुर्घटनामा परेर एक जना गरी तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आज दिउँसो १ः३० बजेको समयमा भैंसे–हेटौंडा सडकखण्ड अन्तरगत पर्ने भीमफेदी गाउँपालिका वडा नम्वर १ सुपारिटार ब्यारेक नजिकै भैंसेबाट हेटौंडातर्फ आउँदै गरेको ना.३७ प ४९१० नम्वरको मोटरसाइकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा मोटरसाइकल चालक हेटौंडा–४ बस्ने २० वर्षीय निशान शाही र मोटरसाइकलमा पछाडी सवार हेटांैडा–४, सितलमहत चोक बस्ने १८ वर्षीय आदित्य शाही रहेका छन् । घाइतेमध्ये निशानको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ भने सामान्य घाइते आदित्य प्रहरीको नियन्त्रणमा रहेका छन् ।
यस्तै, आजै बिहान ८ः५० बजेको समयमा मनहरी गाउँपालिका वडा नम्वर ९ खरंगास्थित पुर्व– पश्चिम सडकखण्डमा चितवनबाट हेटौंडा आउँदै गरेको प्रदेश २–०३–००१ प ४०३० नम्वरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको ना ६ ख ५२२१ नम्वरको ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाइकल चालक चितवनको राप्ती नगरपालिका–८ बस्ने ४७ वर्षीय रामशरण उप्रेती रहेका छन् । उनको हात र खुट्टामा चोट लागेको छ । उनको प्राथमिक स्वास्थ्य केन्द्र मनहरीमा प्रथामिक उपचारपछि थप उपचारको लागि भरतपुरको चितवन रिफर गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरीले ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
