आज सातु खाएर तथा दान गरेर अक्षय तृतीया मनाइँदै
काठमाडौं । आज अक्षय तृतीया मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।
आजको दिनलाई युगहरूको सुरुवाती दिनका रूपमा पनि लिइन्छ । आजको तिथिबाटै सत्य युग सुरुवात भएको थियो भने आजकै दिनबाट द्वापर युग समापन भई त्रेतायूग सुरु भएको मानिन्छ ।
यसै उल्लास र उत्सर्गका साथ आज बैशाख शुक्ल तृतीयाका दिन नेपाल, भारतलगायतका हिन्दु धर्मावलम्बीहरूले जौको सातु खाएर वा दान दक्षिणा दिएर यो पर्व मनाउँछन् ।
अक्षय तृतीयामा मुख्यतः सातु खाने चलन रही आएको छ । यस दिनमा जौ गहुँलगायतबाट बनेका सातु खाने चलन छ । यसले शीतलतासमेत दिने भएकाले हिन्दु धर्ममा जौलाइ पवित्र मानिन्छ ।
बढ्दो गर्मीलाई शीतलता प्रदान गर्न जौ, मकै, गहुँ आदिजस्ता अन्नहरू बेग्ला बेग्लै भुटेर, पिसेर तयार गरिएको पीठोको सातु खाने प्रचलन छ ।
आज माटो, तामा वा पित्तलको घडामा सर्बत राखेर ब्राह्मणलाई दान गरिन्छ । यस्तो घडामा ब्रह्मा, विष्णु र शिव तीनै स्वरूपका भगवान्को निवास हुने मान्यता छ ।
