उप–निर्वाचन : भोलिबाट आचारसंहिता लागू हुने

काठमाडौं । प्रतिनिधि सभा सदस्य उप–निर्वाचनका लागि भोलि शुक्रबारदेखि आचारसंहिता लागू हुने भएको छ । शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुने निर्वाचन आयोगका सह–सचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
उनका अनुसार, आचारसंहिता चितवन, बारा र तनहुँ जिल्लाभर विभिन्न व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ । आगामी बैशाख १० गते चितवन २, बारा २ र तनहुँ १ मा उप–निर्वाचन हुँदैछ ।
आचारसंहिता मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी, प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, सार्वजनिक पद धारण गरेको व्यक्तिहरुका लागि लागू हुनेछ ।
यसैगरी, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी, मतदाता, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी, निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदारलाई पनि आचारसंहिता लाग्ने आयोगले जनाएको छ ।