कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही
सुर्खेत । कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त भएका छन् । कर्णाली प्रदेश सरकारको बुधबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले शाहीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले जानकारी दिए ।
उपाध्यक्षमा नियुक्त शाही यसअघि योजना आयोगको सदस्य थिए । शाहीले जवाहरलाल नेहरु विश्वविद्यालयबाट क्षेत्रीय विकास तथा प्राकृतिक श्रोत साधन व्यवस्थापनमा एमफिलको पढाइ सकेका छन् ।
नेकपा एमाले परित्याग गरेका शाहीलाई नेकपा (माओवादी केन्द्र) ले गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा दैलेख क्षेत्र नं.२ (ख) बाट प्रदेश सभाको टिकट दिएको थियो । निर्वाचनमा झिनो मतले पराजित भएका शाहीलाई प्रदेश सरकारले प्रदेश योजना आयोजको जिम्मेवारी दिएको हो ।
