आज चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले यतिवेला सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही रहेको छ ।
आज दिउँसो देशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहनुका साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले देशका पहाडी भू–भाग चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु आग्रह गरेको छ ।
