घुससहित नायब सुब्बा र लेखापढी व्यवसायी पक्राउ
वीरगञ्ज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीबाट घुस लिएको रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका नायब सुब्बा (नासु) रामकृष्ण पण्डित र श्रीसुभाष भू–सेवा केन्द्र, जलेश्वरका लेखापढी व्यवसायी सुभाष चन्द्रलाल कर्ण रहेका छन् ।
उनीहरूलाई अख्तियारको कार्यालय बर्दिवासबाट खटिएको टोलीले सेवाग्राहीबाट ९ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
फागुन १८ गते बिहीबार श्रीसुभाष भू–सेवा केन्द्र जलेश्वर महोत्तरीबाट उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
