आज मगर एकता दिवस मनाईँदै

तु खबर संवाददाता
२०७९ फाल्गुन १५, सोमबार ०८:४९

काठमाडौं । मगर समुदायले आज ४१ औं मगर संघ स्थापना एवम् मगर एकता दिवस मनाउँदैछ । २०३९ सालदेखि फागुन १५ गतेका दिन मनाउँदै आएको मगर दिवस आज परेको हो ।

आदिवासी जनजातिमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायले एकता दिवसको अवसरमा आज विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।

उक्त दिवसको अवसरमा मगर बाहुल्य केही पालिकाहरुले सार्वजनिक विदा दिएका छन् । स्थापना दिवस परम्परागत भेषभुषासहितको र्याली प्रदर्शनी तथा सोरठी, कौडा, सालैजो र घाटु नाचसहित मनाइने गरिन्छ ।

मगर समुदायले फागुन १५ गते सार्वजनिक विदा दिनुपर्ने, नेपालका प्रथम शहीद भनिने लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् ।