हेटौंडा सिमेन्ट उद्योगको पुनः उत्पादन सुरु
मकवानपुर । कोइलाको अभावका कारण बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले शुक्रबारबाट पुनः उत्पादन सुरु गरेको छ । करिब दुई हप्तादेखि बन्द रहेको उद्योग कोइला आपूर्ति भएपछि पुनः उत्पादन सुरु गरेको हो ।
हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला ८ हजार मेट्रिक टन आपूर्तिको बोलपत्र आह्वान गरेकामा अहिलेलाई एक हजार ६०० मेट्रिक टन कोइला आपूर्ति भएको जनाएको छ ।
आपूर्ति भएको एक हजार छ सय मेट्रिक टन कोइलाले १५ दिनलाई सिमेन्ट उत्पादन गर्न कच्चा पदार्थ पुग्ने उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए । उनका अनुसार, बाँकी कोइला आउने क्रममा रहेको छ । कोइला आपूर्ति भारत, भुटान, इन्डोनेसिया र पाकिस्तानबाट भइरहेको कर्णले बताए ।
नेपाल सरकारद्वारा २०३२ सालमा स्थापना गरिएको हेटौंडा सिमेन्टले वि.सं. २०४३ साल मंसिरबाट व्यवसायीक रुपमा उत्पादन सुरु गरिँदै आएको छ ।
