लागूऔषधसहित ६ जना मकवानपुर प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ फाल्गुन ८, सोमबार १८:३३

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले गएराति जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले गएराति पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ चुरियामाई मन्दिर नजिकैबाट लागूऔषध नुफिन २०० एम्पुल, फेनरागन १९५ एम्पुल र डाईजेपाम १८९ एम्पुल गरी जम्मा ५८४ एम्पुलसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा हेटौंडा–१४, मयुरधाप बस्ने २७वर्षीय सुनिल कार्की र २९ को पुर्णबहादुर दोङ लामा रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, गएराति साढे ११ बजेको समयमा पथलैयाबाट हेटौंडातर्फ आँउदै गरेको प्रदेश ३–०३–००१ प ६२७५ नं. को स्कुटरलाई शंका लागी रोकी चेकजांच गर्ने क्रममा उक्त स्कुटर चालक कार्की र स्कुटरमा सवार दोङ लामाको साथबाट उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

यस्तै, प्रहरीले गएराति नै हेटौंडा–१३ थिङटोलबाट अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध नाईट्राभेट ५८ ट्याबलेट र डाईजेपाम १२ एम्पुलसहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा हेटौंडा–१२ बस्ने ३२ वर्षीय जितबहादुर बिश्वकर्मा, २१ वर्षीय अमिरबल तामाङ, २७ वर्षीय किरणराज घलान र २७ वर्षीय अजय मोक्तान रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उनीहरुलाई विशेष सुचनाको आधारमा पुगेको प्रहरी चौकी पदमपोखरी मकवानपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका ६ जनामाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।