मकवानपुरमा स्वास्थ्य चौकीको छतबाट खसेर वृद्ध घाइते
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ४, गरगरे स्थित बकैया आधारभूत स्वास्थ्य चौकीको छतबाट खसेर आज बिहान एक वृद्ध गम्भीर घाइते भएका छन् ।
स्वास्थ्य चौकीमा जारी आँखा शिविरमा आँखा जाँच गर्न आएका बकैया–७ हात्तिखोलाका ८० वर्षीय आइते माझी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, बिहान ३ बजे शौचालय जाने क्रममा स्वास्थ्य चौकीको छतबाट खसेर घाइते भएका हुन् ।
घाइते उनलाई उनको बुहारी अनिता माझीले उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पुर्याएको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
