दुर्घटनामा परेर हेटौंडाका गिरी घाइते

तु खबर संवाददाता
२०७९ माघ २४, मंगलवार ०८:२७

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ एचआईडीस्थित नेपाल बैँक अगाडि गएराति सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ३५ वर्षीय गोकर्ण गिरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार राति २०ः४५ बजेको समयमा रातोमाटेबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना १ क ७३७७ नम्वरको डिब्बा ट्रकमा पछिपछि आउँदै गरेको मधेश प्रदेश ०३–०२७ प ६२७० नम्वरको स्कुटर ट्रकको पछाडी ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक गिरी गम्भीर घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, घाइते गिरीलाई हेटौंडा अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि चितवनको भरतपुर पठाइएको छ । घाइते गिरीले मापसे गरेको पाइएको छ । प्रहरीले दुबै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

दुर्घटनापश्चात स्थानीय आक्रोसित भई ट्रकलाई ढुङ्गा हान्ने क्रममा उक्त स्थानमा खटिएका इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक सुमन बानियाँका बायाँ आखाँको माथि चोट लागेको र स्थानीय मेडिकलमा गई ४ वटा टाँकालगाई लगाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । साथै ढुंगा प्रहारबाट ट्रकको अगाडिको सिसा फुटेको छ ।