बागमती प्रदेश प्रमुख शर्माद्वारा सोनाम ल्होसारको शुभकामना व्यक्त
मकवानपुर । बागमती प्रदेश प्रमुख यादन चन्द्र शर्माले सोनाम अर्थात् तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसार २५८९ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले आईतबार एक सन्देश जारी गर्दै यस पर्वले सबै नेपालीहरुमा सुख, शान्ति र समृद्धि अभिवृद्धि हुन सकोस् भन्ने शुभकामना व्यक्त गरेका हुन् ।
‘सोनाम ल्होसार’ तामाङ समुदायमा नयाँ वर्षको रुपमा धुमधामका साथ मनाइने पर्व भएको प्रमुख शर्माको शुभकामना सन्देशमा उल्लेख छ ।
प्रदेश प्रमुख शर्माको शुभकामनामा भनिएको छ, ‘नव वर्ष आरम्भको यस सुखद् घडीमा ल्होसार पर्व मनाउने समुदायका स्वदेश–विदेशमा रहनु हुने दाजुभाई, दिदिबहिनी तथा सम्पूर्ण नेपालीहरुप्रति सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
उनले विविधतामा एकता, सद्भाव र सामाजिक सहिष्णुता एवम् बन्धुत्व र पारस्परिक मेलमिलाप नै हाम्रो समाजको मूल चरित्र भएको बताउँदै हाम्रा यस्ता राष्ट्रिय धरोहरप्रति हामी सबैले गौरवबोध गर्न सक्नुपर्ने बताए ।
