पोखरा विमान दुर्घटना : काठमाडौं लगिएको शवको परीक्षण गरिंदै
काठमाडौं । यही माघ १ गते आइतबार काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये काठमाडौं लगिएकाका ४८ जनाको शव परीक्षण गरिँदैछ ।
नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत मङ्गलबार दिउँसो काठमाडौं ल्याइएका शव केहीबेर अघिदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण गर्न थालिएको यती एयरलाइन्सले जनाएको छ ।
मृतकका परिवार र आफन्तजनलाई ‘काउन्सिलिङ’ गर्ने काम मङ्गलबार सकिएपछि आज बिहानैदेखि शव परीक्षण सुरु गरिएको सो अस्पतालले जनाएको छ ।
कतिपयको शव पहिचानसमेत हुन नसकेकाले डिएनएका आधारमा पहिचान गरेर परीक्षणपश्चात एकैपटक मृतकका परिवार तथा आफन्तलाई हस्तान्तरण गरिनेछ ।
पछिल्लो अपडेट अनुसार, चालकदलका सदस्यसहित ७२ जना सवार उक्त विमान दुर्घटनामा परेका ७१ जनाको शव फेला परेको छ । बाँकी अझै बेपत्ता छन् । उनको खोजीकार्य जारी रहेको यती एयरलाइन्सले जनाएको छ ।
सनाखत भएका केही शव भने पोखराबाटै आफन्तलाई बुझाइएको छ ।
