पोखरा विमान दुर्घटना : मृतकमध्ये २६ जनाको सनाखत
पोखरा । पोखरामा आइतबार भएको यती एयलाइन्सको विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये २६ जनाको सनाखत भएको छ ।
आइतबार बिहान ७२ जना सवार यति एयरलाइन्सको विमान अन्दाजी ११ः०० बजेको समयमा दुर्घटनाग्रस्त भएको थियो । उक्त विमान बिहान १०ः ३२ मिनेटको समयमा काठमाडौंबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित उडेको थियो ।
हालसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । तीमध्ये २६ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सनाखत हुनेहरुमा पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा १३, काहुँडाँडाका २७ वर्षका निशान्त आचार्य, पोखरा १७ घर भई अहिले बालाजु बस्ने संगीता शाही, पोखरा ४ का डा.सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकर रहेका छन् ।
पर्वतको कुश्मा,१ का १० वर्षका रियान पौडेल, पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा ७ की लक्ष्मी पौडेल, पर्वत कुश्मा–९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल, उनकी ११ वर्षकी छोरी प्रसिद्धी, पर्वत मोदी १ का ३९ वर्षका विजयकुमार गुरुङ, त्यही ठाउँकी रचना काफ्ले पौडेल, पोखरा–२२ का रक्की गुरुङ रहेका छन् ।
यसैगरी, रुपन्देही शंकर ८ का डा. गणेश थापा, काठमांडौंकी नतु परियार, रीता परियार, हरि परियार, पोखरा ८ की एसमिन गुरुङ, पोखराको बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, कावासोती ६ का ३५ वर्षका मोहनप्रकाश श्रेष्ठ, पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेनको सनाखत भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अझै बेपत्ता छन् । उनीहरुको बिहानैदेखि खोजि कार्य भइरहेको छ । दुर्घटनामा मृत्यु भएर सनाखत भएका शव आजै परिवारलाई जिम्मा लगाइँदै छ भने पहिचान नखुलेका शव काठमाडौं पठाइने कास्की प्रहरीले जनाएको छ ।
